अस्ट्रेलियामा विपक्षी दल विजयी, आप्रवासी नीतिमा कडाइ हुन सक्ने



सिड्नी — अस्ट्रेलियामा शनिबार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबरले जित हासिल गरेको छ । वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार गरेका छन् । जितसँगै लेबर नेता एन्थोनी अल्बानिज प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

वर्तमान प्रधानमन्त्री स्कट मरिसनले शनिबार राति निर्वाचनमा आफ्नो गठबन्धनको हार स्वीकार गर्दै विपक्षी नेता अल्बानिजलाई बधाई दिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकमाझ बोल्दै मरिसनले लिबरल पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सांसदको जिम्मेवारी पूरा गर्ने तर पार्टी नेताको जिम्मेवारी दलको बैठकबाट हस्तान्तरण गर्ने बताएका हुन् ।

चुनावी परिणामसँगै लेबरले ९ वर्षपछि पुन: सरकार बनाउन पाएको छ भने ३ कार्यकालदेखि शक्तिमा रहेको लिबरल नेसनल गठबन्धन सत्ताबाट बाहिरिने भएको हो । चुनावी परिणापछि बोल्दै अल्बानीजले ‘अस्ट्रेलियालाई एकताको सुत्रमा बाध्ने’ बताएका छन् । उनले भ्रष्टाचारविरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्ने बताएका बीबीसीले उल्लेख गरेका छन् ।

निर्वाचन घोषणा हुनुभन्दा अघि गरिएका विभिन्न सर्वेक्षणमा विपक्षी दल लेबरले जित हासिल गर्ने देखिएको थियो । त्यसका साथै लिबरलको सरकार रहेको दक्षिण अस्ट्रेलियामा केही महिनाअघि भएको राज्य निर्वाचनमा लेबरले जित हासिल गरेसँगै लिबरल गठबन्धनलाई दबाब परेको थियो ।

शनिबार सम्पन्न चुनावमा करिब १ करोड ७० लाख जनताले मत हालेका थिए । जसमध्ये करिब ४ लाख ५० हजार नयाँ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : २० बजे