एसपीपीमा सहभागि नहुने पत्र पठाउन नपाउँदै अमेरिकी मन्त्री नेपालको भ्रमणमा



दृष्टान्त संवाददाता
काठमाडौं, ११ साउन– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोली (विहीवार) नेपाल भ्रमण आउँदै छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् । नेपालले अमेरिकी राज्य साझेदार कार्यक्रम (स्टेट पार्टनसिप कार्यक्रम) मा सहभागि नहुने निर्णय गरेपनि अमेरिकालाई पत्र भने पठाएको छैन ।
सत्तारुढ दलकै नेताहरुले सरकारले अमेरिकालाई पत्र नपठाएकोमा आपत्ती जनाउँदै परराष्ट्र मन्त्रालय कसले संचालन गरिरहेको हो भन्ने गम्भीर प्रश्न उठाएका छन् । एसपीपीमा विवाद भइरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री आउन लागेका हुन् ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द पनि भएको छ । एसपीपी विवादलाई लिएरै भ्रमण रद्ध भएको हो । यो अवस्थामा हुन लागेको भ्रमण अर्थपूर्ण देखिन्छ । त्यसो त यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : ११ बजे