परराष्ट्र प्रवक्ता भन्छिन् – परराष्ट्रमन्त्रीको भ्रमणमा चीनसँग सम्झौता हुँदैछ, तर भन्न मिल्दैन



काठमाडौं – परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि बताइन् । ‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ।’ प्रवक्ता लम्सालले भनिन्, ‘ दुवै मुलुले सम्मान गर्दै आएका छन्। नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ।’
परराष्ट्रमन्त्री डा। नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने बताउँदै प्रवक्ता लम्सालले चीन र नेपालबीच हुने सम्झौताबारे पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइन् ।

‘परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न मिल्दैन। त्यसको लागि समय र परिस्थिति अनुकुल हामी बीचमा पुन पत्रकार सम्मेलान गरेर जानकारी दिन्छौं, धैर्य गर्नु हुन अनुरोध छ ।’ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

यस्तै अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे संसदमा नै परराष्ट्रमन्त्री खड्काले जानकारी दिइसके भन्दै उनले यसबारेमा थप बोल्न नमिल्ने बताइन् । यस्तै २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ वटा राजदूतहरुको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरु नियुक्त भएर गइसकेको र म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले बताइन् ।
यसका साथै राहदानी र कन्सुलर विभागमा चाडैं अनलाइनमार्फत सेवा दिने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ०९ बजे