एसडी मुनीले देखेका नेपालका चार सम्भावित राष्ट्रपतिका उम्मेद्वार



काठमाडौं– भारतीय ‘विवादास्पद’ बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताउँदै त्यसका लागि चार जना ‘योग्य’ रहेको उल्लेख गरेका छन् ।

नेपालको आन्तरिक मामिलामा बेलाबेलामा विवादास्पद टिप्पणी गर्ने मुनीले राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा त्यसमा आफ्नो धारणा राखेका हुन् । उनले ट्वीटमार्फत् नेपालमा राष्ट्रपतिका लागि देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिएका हुन् । सोमवार बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’

पूर्वसहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित गर्ने धारणा राख्दैआएका छन् । एमाले र माओवादीबीच पुष १० मा भएको सहमति अनुसार, राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीबाट निर्वाचित हुनुपर्छ । माओवादीसँग निकट सम्वन्ध रहेका भनिएका मुनी नेपाल मामिलामा चासो राख्ने गर्छन् तर उनले भारतीय संस्थापनको प्रतिनिधित्व भने गर्दैनन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ०६ बजे