भारत सरकारको सहयोगमा बनेको मदन भण्डारी कलेज हस्तान्तरण



काठमाडौं– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
उक्त हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री एंव कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्रीमती उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका सन्तोष बुढाथोकीको उपस्थिति थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत यस कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा कूल नेरु २।८६४ करोडको लागतमा भएको हो ।
स्थापनाकालदेखि कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा देशका विभिन्न जिल्लाका १५०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजले विभिन्न विषयमा अध्यापन गराउदै आएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।
यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको निर्माणमार्फत नेपाली जनताको उत्थानका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : १७ बजे