आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण: कीएभ


रासस

१५ चैत्र २०७९, बुधबार  

57
Shares

कीएभ । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ भ्रमणका लागि बुधबार युक्रेनको जापोरिजझिया विद्युत् केन्द्रमा पुगेका छन् ।

“राफेल ग्रोसी जापोरिजझिया परमाणु ऊर्जा केन्द्रमा आाइपुगेका छन् ।

रूसी समूहको कब्जामा रहेको युक्रेन र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आईएईएका प्रमुखको यो दोस्रो भ्रमण हो ।

गत वर्ष रुसी सेनाले आक्रमण गरेयता लगातार गोलाबारी भइरहेको दक्षिणी जापोरिजिया क्षेत्रमा रहेको आणविक केन्द्रको सुरक्षालाई लिएर निरन्तर चिन्ता व्यक्त गरिएको छ ।

युक्रेनी आणविक ऊर्जा उत्पादक ‘एनरगो एटम’ र रूसी समाचार एजेन्सीहरूले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुख राफेल ग्रोसी आफ्नो प्रतिनिधिमण्डलका साथ जापोरिजझिया आएको पुष्टि गरेका हुन् ।

एनरगो एटमले युक्रेनमा रूसी सैन्य हार्डवेयरमा अङ्कित ‘जेड’ अक्षर चिह्नित नागरिक र सैन्य वाहनहरूको एक सम्रहको भिडियो तस्बीर सार्वजनिक गरेको हो ।

“राफेल ग्रोसीले जापोरिजझिया परमाणु ऊर्जा केन्द्र (जेडएनपीपी) को स्थिति कसरी परिवर्तन भएको छ भनेर हेर्ने, उर्जा उत्पादन केन्द्रमा परमाणु ईन्जिनियरहरूसँग कुरा गर्ने र आईएईए स्थायी अभियानका सदस्यहरूको हेरफेरको सुनिश्चितकर्ताको रूपमा काम गर्ने योजना बनाउनुभएको छ,” एनरगो एटमले आफ्नो सामाजिक सञ्जाल पेजमा उल्लेख गरेको छ ।

गत फब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि ग्रोसीको यो दोस्रो भ्रमण हो र भ्रमणको उद्देश्य ‘सुविधाको गम्भीर आणविक सुरक्षा र सुरक्षा स्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्नु हो,” आईएईएले भनेको छ ।

एजेन्सीले सेप्टेम्बर २०२२ देखि प्लान्टभित्र विशेषज्ञहरूको एक टोली राखेको छ, तर ग्रोसीले स्थिति ‘अझै अनिश्चित’ रहेको बताएका छन् ।

यसै हप्ताको सुरुमा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका थिए । उक्त अवसरमा युक्रेनका राष्ट्रपतिले रूसको नियन्त्रणमा रहेको प्लान्टमा सुरक्षा पुनः स्थापना गर्न सम्भव नभएको बताएका थिए ।

जेलेन्स्कीले ग्रोसीसँग भनेका थिए, “जापोरिजिया आणविक केन्द्र र आसपासका क्षेत्रबाट रुसी सेना र कर्मचारीहरूलाई तत्काल फिर्ता नगरेसम्म आणविक सुरक्षा र सुरक्षा पुनः स्थापना गर्ने कुनै पनि पहल असफल हुनेछ ।

रूसको रोसेनरगो एटमका सल्लाहकार रेनाट कार्चाले भ्रमणअघि बुधबार भने, “यसले कुनै ठूलो सफलता हासिल गर्ने सम्भावना छैन ।”

“ग्रोसीको भ्रमणले नाटकीय रूपमा केही पनि परिवर्तन गर्नेछ भन्ने कुरामा हामी कुनै भ्रमबाट टाढा छौं । हाम्रा लागि यो एउटा सामान्य घटना हो,” रूसी समाचार एजेन्सीहरूले उनलाई उद्धृत गर्दै भनेका छन् । “पक्कैपनि, जे पनि हुन सक्छ,” उनले भने ।

आवश्यक आणविक सुरक्षा र सुरक्षा कार्यहरू सुनिश्चित गर्न प्लान्टलाई भरपर्दो बिजुली आपूर्तिको आवश्यकता पर्दछ ।

तर युद्धको समयमा यसले बारम्बार बिजुली कटौतीको सामना गर्नुपरेको छ, जसले आईएईए र अन्तर्राष्ट्रिय समुदायमा चिन्ता पैदा गरेको छ ।

रुसी आक्रमणले देशका विभिन्न भागमा आतङ्क मच्चाएको छ र १३ महिनाभन्दा लामो भीषण युद्धका बावजुद युक्रेनका उच्च कूटनीतिज्ञले मङ्गलबार विद्रोही भाषामा बोलेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबारदेखि औपचारिक रुपमा सुरु हुने ‘समिट फर डेमोक्रेसी’को पूर्वसन्ध्यामा ‘भर्चुअल’ भेलामा विदेशमन्त्री दिमित्रो कुलेबाले भने, “रूसले युक्रेनी भूमिको प्रत्येक वर्ग मिटरबाट हट्नुपर्छ । फिर्ता हुनुको अर्थ के हो भन्ने कुराको गलत व्याख्या गर्नु हुँदैन ।”

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १९ बजे