बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ: कामु प्रधानन्यायाधीश



दोलखा । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उनले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताए ।

“निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ ।”

उनले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिए । कामु प्रधानन्यायाधीश कार्कीले कानुनको मूल्य र मान्यताका आधारमा कार्यपालिका र व्यवस्थापिकाको विवादका साथै प्रदेशका विवाद निरूपण गर्ने निकाय नै सर्वोच्च अदालत हो । उनले आफूले कानुन व्यवसाय र न्याय क्षेत्रको यात्रा दोलखाबाटै प्रारम्भ गरेको स्मरण गरे ।

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीका तर्फबाट छिटो अगाडि बढाउन आफूले पहल गरिरहेको बताए । उनले विपक्षी दलका नेता बिरामी हुँदा पनि विपक्षी दलकै नेतको निवासमा गरेर अघि बढाउने विषयमा छलफल भएको जानकारी गराए । महान्यायाधिवक्ता पोखरेलले आज पनि सोही विषयमा प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गरेको स्पष्ट पारे ।

संवैधानिक परिषद्को बैठक राष्ट्रियसभाका अध्यक्ष यही वैशाख १२ गर्ने आएपछि सहमति प्रक्रिया अघि बढ्ने र अब तत्काल नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै संवैधानिक परिषद्ले तत्काल सर्वसम्मतिले नाम सिफारिस गर्न आग्रह गरे ।

सर्वसम्मतरूपमा प्रधानन्यायाधीशको नाम तत्काल सिफारिस गरेमा कानुनको आवश्यकता नपर्ने उल्लेख गर्दै उनले उक्त कार्य नभएमा बारले चरणबद्धरूपमा आन्दोलन गर्ने बताए । बागमती प्रदेशसभा सदस्य भरत केसीले आफ्नै नेतृत्वमा बार भवन निर्माण सुरू भएको उल्लेख गर्दै दोलखा बारले असहाय र न्याय पाउनबाट बञ्चितलाई निःशुल्क सेवा दिने गरेको जानकारी दिए ।

नेपाली कांग्रेस दोलखाका अध्यक्ष बर्मा लामाले देशको समग्र क्षेत्रमा सुशासन कायम गर्न न्याय क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । नेकपा (एमाले) दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले देशको विकृति र विसङ्गतिको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्नका लागि न्याय क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ०७ बजे