नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो



काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।

मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रेमा वैशाख ९ गते उल्लेख थियो ।

पात्रो प्रकाशन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर विभागले समितिबाट स्वीकृति नलिइ भित्तेपात्रो प्रकाशन गरेको भेटिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । यस विषयमा गृह मन्त्रालयका अधिकारीसँग कुराकानी भएको पनि उनले बताए ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित भित्तेपात्रो प्रकाशन गर्दा गम्भीर त्रुटी भएको भेटिएको भन्दै हाल उक्त भित्तेपात्रे वितरणमा रोक लगाइएको जानकारी दिए ।

आफूखुसी भित्तेपात्रो प्रकाशन गर्दा तिथि, मिति, चाडपर्वमा फरक भएर विवाद आएपछि मन्त्रिपरिषद्को २०७७ साल पुस २० गतेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश स्वीकृत गरी पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्नेले समितिसँग स्वीकृत लिनुपर्ने व्यवस्था गरेको थियो ।

गठन आदेश २०७८ साल साउनमा नेपाल राजपत्रमा प्रकाशन भएको थियो । नेपाल राजपत्रमा समितिको गठन आदेश प्रकाशन भएपछि विसं २०७९ देखि प्रकाशन भएका सबै पात्रो, भित्तेपात्रो र गोजीपात्रोले समितिसँग स्वीकृति लिनुपर्छ ।

पात्रो प्रकाशित गर्दा समितिबाट लिइएको स्वीकृति नम्बर पनि उल्लेख गर्नुपर्छे व्यवस्था छ । यस वर्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा पात्रो, भित्तेपात्रो र गोजीपात्रो अनधिकृत रुपमा प्रकाशन भए÷नभएको अनुगमन गर्न समिति गठन भएको छ । समितिमा गृह मन्त्रालयका उपसचिवलाई पनि सदस्य राखिएको छ ।

विभागले भने भित्तेपात्रो प्रकाशनमा त्रुटी भएको भन्दै सुधार गरिने प्रतिबद्धता जनाएको छ । विभागले भित्तेपात्रो प्रकाशनका लागि अस्मि प्रिन्टिङ प्रेसलाई जिम्मा दिइएको थियो । प्रेसका डिजाइनर भूषण श्रेष्ठले नै तिथि, मिति, चाडपर्व राखेको बजार व्यवस्थापक विश्वराज केसीले बताए । समितिले पुसमै पात्रोलाई स्वीकृति दिन्छ । माघ पहिलो सातासम्म पात्रो प्रकाशन भएर बजारमा जान्छ । तिनै पात्रो किनेर डिजाइनरले भित्तेपात्रोको डिजाइन बनाउँछन् ।

भित्तेपात्रोमा पात्रोकै जस्तो तिथिचाड पर्व सबै उल्लेख गरिए पनि त्यसको स्रोत भने राखिएको हुँदैन । भित्तेपात्रो प्रकाशक संस्था आफैँले ग्रहगणित गरेर राखे जसरी भित्तेपात्रोमा तिथि, चाडपर्व राख्दा बेलाबेलामा यस्तो समस्या आउने गरेको पञ्चाङ्गकार सूर्यनाथ पन्त बताउँछन् । पञ्चाङ्गकारले पात्रोबाट भित्तेपात्रोमा सबै सामग्री हुबहु सारिँदा समस्या भएको भन्दै आए पनि कमैले मात्र प्रतिलिपि अधिकारअन्तर्गत कारबाहीको माग गर्ने गरेका छन् ।

विभागले तीन हजार भित्तेपात्रो प्रकाशन गरेको जनाएको छ । विभागले स्थापना कालदेखि नै पञ्जीकरण, राष्ट्रिय परिचय पत्रलगायत जानकारीमूलक सूचना राखी भित्तेपात्रो प्रकाशन गर्दै आएको जनाइएको छ । यसअघि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी अनधिकृत रुपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण एवं अनुगमन गरी नियमन गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनमै मन्त्रालय अन्तर्गतकै विभागले अननिधकृत रुपमा भित्तेपात्रो प्रकाशन गरी गम्भीर गल्ती गरेको तथ्य पत्ता लागेको छ ।

समितिले गत वर्षदेखि नै अनधिकृत रुपमा प्रकाशन हुने गरेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको अनुगमन गरी कारबाही गर्ने भनेपनि हुननसक्दा यस क्षेत्रमा मनपरी हुन थालेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी नियम, कानुनको अभावमा काम गर्न नसकिएको स्वीकार गर्दै यसवर्षदेखि भने कारबाहीका लागि समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन मन्त्रालयले स्वीकृत गरेको बताउँछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १२ : ५७ बजे