भारतीय महावाणिज्य दूतावासद्वारा विशेष सप्ताह आयोजना


रासस

१३ श्रावण २०८०, शनिबार  

38
Shares

भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ ।

मिसन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताउनुभयो । उहाँले पर्यावरणको संरक्षण एवं प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्‍याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिनुभएको थियो । यसअन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो ।

उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गर्नुभएको थियो । यसैगरी जुलाई २१ मा विजय कुशवाहाले ई–वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । साथै उहाँले विद्युतीय सामग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

जुलाई २४ मा रणजितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिकरूपमा कम गर्ने सन्दर्भमा विचार प्रस्तुत गर्नुभएको थियो । जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश पार्नुभएको थियो । सोही क्रममा उहाँले स्वास्थ्यका लागि कोदोको प्रयोगका फाइदबारे चर्चा गर्नुभएको थियो । जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्नेमा जोड दिनुभएको थियो ।

जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भनी व्याख्या गर्नुर्भएको थियो । विशेष सप्ताहको अन्तिममा वाणिज्य दूतावास परिसरमा आयोजना गरिएको फोहर बचत सत्रमा नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियङ्का रौनियारले पानी खेर फाल्दा कसरी पानीको सङ्कट निम्त्याउँछ भन्नेबारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ३१ बजे