आप्रवासीको मृत्यु ‘छिपाउन नसकिने मानवीय चोट’ होः पोप



भ्याटिकन सिटी । भूमध्यसागरमा मर्ने आप्रवासीको सङ्ख्या ‘छिपाउन नसकिने मानवीय चोट’ भएको पोप फ्रान्सिसले आइतबार बताएका छन् ।

इटालीको लाम्पेडुसा टापुमा बुधबार हराइरहेका ४१ जनालाई उद्धार गरी ल्याइएका व्यक्तिको सम्झनामा आफ्नो साप्ताहिक प्रार्थनामा ८६ वर्षीय धर्मगुरूले भूमध्यसागरमा मर्ने आप्रवासीको सङ्ख्या ‘छिपाउन नसकिने मानवीय चोट’ भएको बताएका हुन् ।

सन् २०१९ को सुरुदेखि अहिलेसम्म भूमध्यसागरमा दुई हजारभन्दा बढी आप्रवासीले ज्यान गुमाइसकेका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई ‘पीडा र लज्जाका साथ’ उनले स्मरण गरे ।

सेन्ट पिटर्स स्क्वायरमा भेला भएका तीर्थयात्रीहरूलाई सम्बोधन गर्दै उनले भने, “यो हाम्रो ‘छिपाउन नसकिने मानवीय चोट’ हो ।

“ऐक्यबद्धता र भ्रातृत्वको भावनाका साथ यसलाई निको पार्न खोज्ने राजनीतिज्ञ र कूटनीतिज्ञहरूप्रति म आभार व्यक्त गर्दछु ।”

उनले जहाज डुब्नबाट रोक्न र नाविकहरूको उद्धारका लागि काम गर्ने सबैको प्रतिबद्धताको पनि प्रशंसा गरे ।

आफ्नो घरबाट अन्यत्र राम्रो जीवनयापनका लागि भागेकाहरूलाई राम्रो उपचार गर्न नियमित रूपमा आग्रह गर्दै फ्रान्सिसले यस हप्ता नै मृत्युप्रति ‘उदासीन’ नहुन आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का प्रवक्ताले जनवरी १ यता भूमध्यसागरमा कम्तीमा दुई हजार ६० आप्रवासीले ज्यान गुमाएको बताएका छन् । तीमध्ये उत्तरी अफ्रिकाबाट इटाली र माल्टा जानेमध्ये भूमध्यसागरमा एक हजार ८०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

उत्तरी अफ्रिकी मुलुक ट्युनिसियाको तटबाट निस्केको केही समयपछि शनिबार डुङ्गा डुब्दा एक शिशुसहित दुई ट्युनिसियालीको मृत्यु भएको तटरक्षक बलले जनाएको छ ।

सोमबार न्यायिक अधिकारीहरूले स्फ्याक्सनजिकै एउटा डुङ्गा दुर्घटनामा ११ आप्रवासीको मृत्यु भएको र दर्जनौं बेपत्ता भएको जानकारी दिएका थिए ।

ट्युनिसियाको पूर्वी बन्दरगाह शहर लाम्पेडुसाबाट करिब १३० किलोमिटर (८० माइल) टाढा रहेको छ र यो एउटा प्रमुख आप्रवासी अवतरणस्थलको रूपमा उदाएको छ ।

यसैबीच, लाम्पेडुसामा केही दिनको खराब मौसमका कारण दुई वटा जहाज डुबेपछि आइतबार कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ३३ बजे