मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह



मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

उत्तर कोरियाको राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी किम जोङ अनलाई आज पठाएको बधाई सन्देशमा रुसी राष्ट्रपतिले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन एवम् सुमधुर बनाउन आग्रह गरेका हुन् ।

क्रेमलिनले युक्रेनमा सेना तैनाथ गरेपछि र गत वर्षदेखि नै पश्चिमा मुलुकले शत्रुवत् व्यवहार गरेपछि रुस र उत्तर कोरिया एकजुट भएका छन् । यद्यपि दुवै देशमाथि पश्चिमले कठोर प्रतिबन्ध लगाउनका साथै अन्तरराष्ट्रिय समुदायबाटै एक्ल्याउने प्रयास गरेका छन् ।

“म विश्वस्त छु कि हामी कोरियाली प्रायद्वीप र समग्र उत्तरपूर्वी एसियाली क्षेत्रमा स्थायित्व सुरक्षा सुदृढ गर्ने तथा हाम्रा जनताको हितका लागि सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई निरन्तरता दिनेछौँ,” राष्ट्रपति पुटिनले पठाएको सन्देशमा भनिएको छ ।

गत महिना प्योङयाङमा आफ्ना समकक्षी काङ सुन नामसँगको भेटमा उत्तर कोरियासँगको आफ्नो देशको साझेदारीलाई रक्षामन्त्री सर्गेई शोइगुले प्रशंसा गरेपछि रुसी नेताको यो भनाइ स्वतन्त्रता दिवसका सन्दर्भमा सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ५१ बजे