हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु



जेनेभा । सन् २०२३ को सुरुदेखि अहिलेसम्म हाइटीमा सामूहिक हिंसाका कारण दुई हजार चार सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा यसै साता भएको सामूहिक हिंसामा परी ३० जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

“यस वर्षको जनवरी १ देखि अगस्ट १५ सम्ममा दुई हजार चार सय उनान्चालीस जनाको मृत्यु भएको छ भने ९०२ जना घाइते भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँगको साक्षातकारमा भनिन् ।

यसबाहेक सोही अवधिमा ९५१ जनाको अपहरण भएको उनले बताइन् । सामूहिक हिंसाप्रति आक्रोश बढ्दै जाँदा लोकप्रिय न्याय आन्दोलन र आत्मरक्षा समूहको वृद्धिले थप हिंसालाई बढावा दिइरहेको उनले चेतावनी दिइन् ।

उनले भनिन्,“अप्रिल २४ देखि अगष्टको मध्यसम्म ३५० भन्दा बढी व्यक्तिलाई स्थानीय हतियारधारी तथा स्वयंसेवक लडाकू समूहले मारेका छन् । तीमध्ये ३१० जना कथित गिरोहका सदस्य थिए र एक जना प्रहरी अधिकारी थिए ।”

राष्ट्रिय मानव अधिकार रक्षा सञ्जालले एएफपीलाई उपलब्ध गराएको अनुमानित विवरणअनुसार पोर्ट–ओ–प्रिन्सको क्यारेफोर–फ्युइल्स आसपासका घरहरूमा आगलागी हुनुका साथै दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

हाइटीको राजधानीको करिब ८० प्रतिशत हिस्सा आफ्नो नियन्त्रणमा राख्ने गिरोहका लागि यो क्षेत्र रणनीतिक क्षेत्र हो ।

हाइटीमा फिरौतीका लागि अपहरण, कार ज्याकिङ, बलात्कार र सशस्त्र चोरीजस्ता हिंसात्मक अपराधहरू सामान्य छन् ।

हालैका दिनहरूमा यस क्षेत्रमा भएको हिंसाका कारण करिब पाँच हजार बासिन्दाहरू भाग्न बाध्य भएको अधिकारीहरूले बताएका छन् ।

“यस हप्ता हाइटीबाट प्राप्त रिपोर्टले जनसङ्ख्यामा भइरहेको हिंसाको चरम क्रूरता र यसले उनीहरूको मानव अधिकारमा पारेको प्रभावलाई उजागर गरेको छ,” शामदासानीले भनिन्।

संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख भोल्कर तुर्कले ‘गम्भीर सुरक्षा स्थितिलाई सम्बोधन गर्न र कानूनको शासन पुनर्स्थापना गर्न हाइटी पुलिसलाई सहयोग गर्न’ गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय बल पठाउनको लागि अपीलमा तत्काल कदम चाल्न आह्वान गरेको उनले बताइन् ।

हाइटी वर्षौंदेखि आर्थिक, सुरक्षा र राजनीतिक सङ्कटमा फसेको छ । सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्याले स्थितिलाई थप अकल्पनीयरूपमा बिगारेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ४५ बजे