विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त

प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दावी



मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

क्रेमलिनका अनुसार डोनेट्स्कका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको भेटमा पुटिनले भने,“जहाँसम्म विमान दुर्घटनाको कुरा छ, सर्वप्रथम म मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।”

रूसी नेता पुटिनले भने, “म प्रिगोजिनलाई सन् १९९० को दशकको सुरुदेखि नै धेरै पहिलेदेखि चिन्दछु । उहाँले आफ्नो जीवनमा गम्भीर गल्ती गर्नुभयो तर मैले उहाँलाई सोध्दा यी पछिल्ला महिनाहरूमा जस्तै उहाँले आफ्नो र साझा उद्देश्यका लागि आवश्यक परिणामहरू पनि हाँसिल गरेको बताउनुभएको थियो ।”

मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको एउटा निजी एम्ब्रेयर विमान बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको रूसको आपतकालीन सेवामाममिला हेर्ने मन्त्रालयले जनाएको छ ।

रूसी फेडरल एजेन्सी फर एयर ट्रान्सपोर्टले वाग्नर सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिन पनि विमानमा सवार यात्रुमध्ये एक रहेको पुष्टि गरेको छ ।

पुटिनका अनुसार प्रिगोजिन बुधबार अफ्रिकाबाट फर्किएका थिए । उनले रूसका केही अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रिगोजिनमाथि गत जुनमा रूसमा सशस्त्र विद्रोह गर्ने प्रयास गरेको आरोप लागेको थियो । जुन २४ मा, प्रिगोजिन रोस्तोभ–अन–डोन शहरमा रूसी सशस्त्र बलको दक्षिणी सैन्य जिल्लाको मुख्यालयमा प्रवेश गरेका थिए ।

मस्को र प्रिगोजिनबीच बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा सम्झौता भएको बताइएको छ ।

प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दावी
क्रेमलिनले रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि विमान दुर्घटनामा मृत्यु भएका वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको आदेश दिएको भन्ने अफवाहलाई शुक्रबार खण्डन गरेको छ ।

मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन बोकेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

पश्चिमा देशहरू, क्रेमलिनका आलोचकहरू र क्रेमलिन समर्थक केही व्यक्तिहरूले मृत्युबारे विभिन्न अड्कलबाजीहरू गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँगकाृ कुराकानीमा यो घटनालाई ‘दुःखद’ भनेका छन् र अधिकारीहरूको सम्भावित संलग्नताको बारेमा सार्वजनिक बहसलाई स्वीकार गरिने बताए ।

“निस्सन्देह, पश्चिममा, यो अनुमानलाई एक निश्चित कोणबाट प्रस्तुत गरिएको छ । यो सबै सरासर झूट हो,” पेस्कोभले भने । उनले सबैलाई धैर्य गर्न आग्रह गर्दै जारी अनुसन्धानले घातक दुर्घटनाको बारेमा तथ्यहरू प्रकट गर्ने बताएका छन् ।

रूसी अधिकारीहरूले हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अहिलेसम्म अनुसन्धान वा घटनाको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुर्घटनाप्रति आफ्नो मौनता तोड्दै विमानमा सवार १० जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घटनालाई ‘त्रासदी’ को संज्ञा दिएका छन् ।

गत जुनमा रूसको सैन्य नेतृत्वविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रिगोजिनले आफ्नो जीवनमा केही गम्भीर गल्ती गरेको र यो उनको जीवनको ‘जटिल नियति’ भएको उनले बताए ।

अल्पकालीन तर रक्तपातपूर्ण अशान्तिलाई पर्यवेक्षकहरूले पुटिनको लामो शासनका लागि सबैभन्दा ठूलो खतराको रूपमा हेरेका थिए ।
पेस्कोभले भने, “अनुसन्धानको रिपोर्ट आउनेबित्तिकै ती सबै सार्वजनिक हुनेछन् ।”

पुटिन प्रिगोजिनको अन्त्येष्टिमा सहभागी हुने वा नहुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, “राष्ट्रपतिको कार्यतालिका अहिले निकै व्यस्त छ । अहिले अन्त्येष्टिको कुनै मिति तोकिएको छैन, यस विषयमा कुरा गर्न सम्भव छैन ।”

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ३० बजे