लिबिया बाढीः बीस हजारले ज्यान गुमाएको आशङ्का



बेरुत । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ ।

पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।

बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तरराष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन् । बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पुर्‍याएका शव निकाल्ने काम भइरहेको छ ।

लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन्भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् ।

पाँच हजार तीन सय जनाको मृत्यु, मानवीय सहयोग आह्वान
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय पुगेको छ । दशौँ हजार वेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ ।

गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन ।

अन्तरराष्ट्रिय मान्यता प्राप्त लिवियाको अन्तरिम सरकारले पाँच हजार तीन सय जनाले ज्यान गुमाएका बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले आठ हजारभन्दा बढीको मृत्यु भएको बताएका छन् । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ ।

भत्किएका सडक, ध्वस्त सञ्चार सञ्जाल, वर्षौंको गृहयुद्ध र जलवायु परिवर्तनका प्रभावहरूले लिबियालाई विश्वको सबैभन्दा सकसपूर्ण मानवीय सङ्कट भएको देश बनाएको छ । लिबियाका लागि अन्तरराष्ट्रिय उद्धार समितिका देशीय निर्देशक एली अबाउओनले डेर्ना पुरै जलमग्न भएको बताएका छन् । सरकारी अधिकारीहरूले डेर्नाको पश्चिम र बेनगाजीको पूर्वमा रहेको तटीय शहर टोक्राकोे बाँध पनि भत्किनसक्ने चेतावनी दिँदै तटीय क्षेत्र र आसपासका बासिन्दाहरूलाई तत्काल ती स्थानबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेका बताएका छन् ।

निर्देशक अबाउओनका अनुसार मानवीय सहयोग मन्द गतिमा प्राप्त हुन थालेको छ । मानवीय सहायतासँगै डेर्नालाई तत्काल जनशक्ति आवश्यक परेको छ । धेरै देशले पहिले नै फिल्ड अस्पताल र अन्य सहायता सामग्री पठाइसकेका छन् । खोज र उद्धारलाई अझ तीव्र गतिमा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अब जीवित मानिस फेला पार्न कठिन हुने उनी बताउँछन् । उनले अन्तरराष्ट्रिय सहायता निकाय र विदेशी सरकारलाई गत साताको मोरक्को भूकम्पपछि सहायता परिचालन भएको गतिमा लिबियालाई सहयोग आवश्यक भएको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बिडेनले लिबियालाई सहयोग गर्ने घोषणा गर्नुभएको छ भने विश्वका अन्य नेताहरूले पनि सहयोगको वाचा गरेका छन् । लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढीपीडितलाई सघाउन संयुक्त राष्ट्रसङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ९ : ४७ बजे