लिबियाका बाढीपीडितलाई मानवीय सहायता



त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या परस्पर विरोधात्मक आइरहेका बेला अन्तरराष्ट्रिय मानवीय सहायता निकायले राहत सामग्री ल्याएका छन् ।

पूर्वी शहर डेर्नाका एघार हजार तीन सय मानिसले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले शुक्रबार बताएका थिए तर आज पूर्वी भेगका स्वास्थ्यमन्त्रीले तीन हजार एक सय ६६ जनाको मृत्यु भएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अधिकारीहरूले तीन हजार नौ सय ९८ शव भेटिएका जनाएको छ ।

डेर्नामा मात्र अझै नौ हजार जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार वेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् । गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन । सामाजिक सङ्घसंस्थाका प्रतिनिधि हिलोमा पुरिएका लाश निकाल्न र तिनको व्यवस्थापनमा व्यस्त छन् ।

बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले बताएको थियो । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको जनाइएको छ ।

यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।

डब्ल्युएचओका लिबिया प्रतिनिधि अहमेद जोइटेनले हजारौँ हताहत भएको प्राकृतिक विपत्तिको यस्तो लीला इतिहासमा विरलै भएको बताउँदै २९ टन स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिएका छन् । स्वच्छ खानेपानी र सरसफाइको अभावमा बाढीपीडित बिरामी पर्नसक्ने भन्दै उनले अन्तरराष्ट्रिय निकायहरूबाट पनि मानवीय सहायता प्राप्त हुन थालेको बताएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ५१ बजे