मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने



मस्को । भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् छन् ।

“यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्”, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ । यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख नगरेको पनि आरआइए नोभोस्तले बताएको छ ।

गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताए । “एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ”, आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन् ।

गत सेप्टेम्बर ९–१० मा नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भएका थिएनन् । उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्व गरेका थिउ ।

पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्गठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीले “मलाई थाहा छ आजको युग युद्धको होइन” भन्दै युक्रेनसँगको रुसको जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ९ : १५ बजे