हवाई हमलामा हमासको वायु सेना प्रमुख मारिएको इजराइली सेनाको भनाइ



तेल अविव । गए राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायु सेनाले बताएको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायु सेनाले उल्लेख गरेको छ ।

इजराइली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेबार रहेको बताएको छ । “साथै पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतङ्कवादी सङ्गठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त सङ्गठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो”, सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायु सेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतङ्कवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।”

गत राति भएको अर्को छुट्टै आक्रमणमा इजराइली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजराइलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ ।

हमास आतङ्कवादी सङ्गठनविरुद्ध इजराइललाई रक्षा गर्ने क्रममा इजराइली वायु सेना र इजराइली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ ।

प्यालेस्टिनीहरूले गाजा छाड्न थालेः इजराइली सेना
इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्”, उनले भने ।

शुक्रबार इजराइली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोउन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो ।

“हामीले हाम्रो मनसायलाई पहिले नै बतायौँ किनकी यसमा कुनै सैन्य तर्क थिएन तर यद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ”, उनले भने, “हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन्, हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ, हामी हमास र उसका सैन्य पूर्वाधारहरूसँग लडिरहेका छौँ, जहाँ हामीले गाजा पट्टी र गाजा पट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।”

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताए । “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शङ्कास्पद छ ।”

उनले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ०२ बजे