प्रवीण घले स्मृति कप : मेलचौर र गातीकाे विजयी सुरुवात



सिन्धुपाल्चोक पुस २४ । मेलचौर युवा जागरण समाज र गाती युवा क्लब बाह्रबिसे प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा मेलचौरले चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेलाई ४-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

यस्तै, दोस्रो खेलमा गातीले चौतारा साँगाचोकगढी नगरपालिका ६ लाई पेनाल्टीमा ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

निर्धारित ५० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो। गातीका २ खेलाडीले पेनाल्टी सदुपयोग गर्न सकेका थिएनन्। यता, वडा नम्बर ६ का ३ खेलाडीले पेनाल्टी गुमाए।

आयोजक लिलफुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अनुसार प्रतियोगिताको दोस्रो दिन भोलि चार खेल हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैयाँ तथा उपविजेता ७५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल पाउने छन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, खेलाडी र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।

प्रतियोगिताका सबै खेल सिन्धुपाल्चोक चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा हुनेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

मुगल्हो घले समुदायको ल्होसारको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो। समापन कार्यक्रममा विशेष सांस्कृतिक कार्यक्रम गरी ल्होसार मनाउने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।

स्वर्गीय प्रवीण घले चौताराका समाजसेवी थिए। स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि मात्र उनको निधन भएको थियो। २०७४ को स्थानीय निर्वाचनमा चौतारा ५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए। उनकै सम्झनामा यस प्रतियोगिताको आयोजना गरिएको हो।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : १४ बजे