काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकटको समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन जरुरी रहेको बताएका छन् ।
काठमाडौँको कोटेश्वरमा आज (शनिबार) बसेको आजपाको सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष साहले जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दालाई सम्बोधन गर्न पनि अन्तरिम सरकार र अन्तरिम संविधान आवश्यक रहेको दाबी गरेका छन् ।
उनका अनुसार जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरिए पनि त्यसअनुसार संविधान निर्माण नगरिनु नै अहिलेको राजनीतिक अन्योलको एउटा प्रमुख कारण बनेको बताए ।
उनले अहिलेको राजनीतिक अवस्थाले संविधान र सरकारबिच नै गम्भीर प्रश्न खडा गरेको तर्क समेत गरेका छन् । ‘यदि अहिलेकै संविधान ठिक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठिक हो भने अहिलेको संविधान गलत छ,’ आजपा अध्यक्ष साहले भने ।
साहले वर्तमान परिस्थितिमा दुवै पक्षलाई एकैपटक सही ठहर्याउन नसकिने जिकिर गरेका छन् । उनका अनुसार संविधानले प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्ने परिकल्पना नगरे पनि सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको अवस्थाले संवैधानिक सङ्कट उत्पन्न भएको हो ।
‘प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना यो संविधानमा छैन । त्यसैले अहिलेको संविधानको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,’ आजपा अध्यक्ष साहले भने ।
वर्तमान राजनीतिक सङ्कटलाई पुरानै संवैधानिक व्यवस्थाभित्रबाट समाधान गर्न खोज्दा थप जटिलता उत्पन्न हुन सक्ने उनले बताए । मुलुकलाई निकास दिन तत्काल अन्तरिम सरकार गठन गरी त्यसलाई अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढाउनुपर्ने उनको जोड छ ।
उनका अनुसार जेनजी आन्दोलनले उठाएका राजनीतिक, सामाजिक तथा शासन व्यवस्थासँग सम्बन्धित प्रश्नलाई सम्बोधन नगरी केवल सरकार परिवर्तनबाट मात्रै सङ्कट समाधान हुन सक्दैन । त्यसका लागि आन्दोलनका मुद्दा, राज्य सञ्चालनको संरचना र संवैधानिक व्यवस्थामाथि समेत पुनर्विचार आवश्यक रहेको उनले बताए ।
साहले अहिलेको अवस्थालाई व्यवस्था र सरकारबिचको संवैधानिक अन्तर्विरोधका रूपमा व्याख्या गर्दै अन्तरिम सरकार र अन्तरिम संविधान निर्माण गरेर मात्रै मुलुकलाई राजनीतिक निकास दिन सकिने आफ्नो राजनीतिक प्रतिवेदनमा समेत उल्लेख गरेका छन् । ‘अहिले अन्तरिम सरकार र अन्तरिम संविधान गठन गरेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने ।
आजपाले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक सङ्कट, जेनजी आन्दोलनपछि विकसित परिस्थिति र संवैधानिक व्यवस्थाको औचित्यमाथि बहस गर्दै अन्तरिम राजनीतिक तथा संवैधानिक व्यवस्थाको आवश्यकता औँल्याउँदै आएको छ ।
आइतबार काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।





प्रतिक्रिया