अमेरिकी जनताको युद्धविरोधी सन्देश : इरानी वार्ताकार



इरानका प्रमुख वार्ताकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो पराजय व्यहोरेपछि अमेरिकी जनताले ‘युद्ध चाहँदैनन्’ भन्ने सन्देश दिएको बताएका छन् ।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी जनताको सन्देशलाई समर्थन गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी यो सन्देशको समर्थन गर्छौँ ।’

यदि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थ र दबाबमा परेर आफ्नै जनताको इच्छाविपरीत काम गर्छ भने इरानको ‘युद्ध नहोस्’ भन्ने अडान उसका लागि दुःस्वप्न बन्ने उनले चेतावनी दिएका छन् ।

मंगलबार ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूले कमजोर नतिजा ल्याउनुमा इरानसँगको युद्ध र त्यसका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको पनि भूमिका रहेको स्वीकार गरेका थिए ।

तर उनले गत फेब्रुअरीमा इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई लाग्छ, यसको एउटा कारण इरान पनि हो ।’

उनले थपे, ‘इरानबारे मैले गरिरहेको कामलाई मानिसहरूले समर्थन गरेका छन् । तर पेट्रोलको मूल्य बढ्दा त्यसको तत्कालीन असर भोग्न उनीहरू तयार नभएको हुन सक्छ । म यो कुरा बुझ्छु ।’

बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएस न्युजसँग छुट्टै कुराकानी गर्दै ट्रम्पले युद्ध आफूले चाहेको समयमा अन्त्य हुने बताएका छन् ।

इरानसँग युद्ध अन्त्य गर्ने सम्झौता हुन नसके मध्यावधि निर्वाचनपछि अमेरिका र इजरायल पुनः पूर्णस्तरको युद्धमा फर्किन सक्ने चेतावनी ट्रम्पले पछिल्ला साताहरूमा दिँदै आएका छन् ।

होर्मुज जलडमरुमा तनाव

यसैबीच, बुधबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरुमा समुद्री बारुदी सुरुङमा ठोक्किएर चारवटा तेल ट्यांकरमा आगलागी भएको दाबी गरेको छ ।

अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार तीमध्ये दुईवटा ट्यांकरमा अझै आगो लागिरहेको छ । त्यस्तै, जलडमरुको दक्षिणी प्रतिबन्धित मार्ग हुँदै अघि बढ्न खोजेका थप दुईवटा ट्यांकरलाई नियन्त्रणमा लिइएको आईआरजीसीले जनाएको छ ।

यद्यपि, बीबीसीले इरानको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ) का अनुसार मंगलबार साँझ ओमानको मुसन्दम प्रायद्वीपस्थित लिमाहबाट करिब १४ समुद्री माइल (२६ किलोमिटर) उत्तरपूर्वमा एउटा तेल ट्यांकरमा अज्ञात वस्तुबाट दुईपटक आक्रमण भएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको केन्द्रले जनाएको छ ।

यसअघि सोमबार लिमाहबाट उत्तरपूर्वमा एउटा परम्परागत काठको पानीजहाज (धो) माथि भएको आक्रमणमा भारतीय चालक दलका एक सदस्यको मृत्यु भएको थियो । अन्य १३ जनालाई ओमानी अधिकारीहरूले उद्धार गरेका थिए ।

आईआरजीसीले बुधबार होर्मुज जलडमरु क्षेत्रमा अर्को अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी पनि गरेको छ ।

यसअघि सोमबार राति पनि इरानले यस्तै दाबी गरेको थियो । त्यसपछि अमेरिकी अधिकारीहरूले आफ्ना विमानमाथि आईआरजीसीले गोली चलाएपछि जवाफस्वरूप अमेरिकी सेनाले इरानको केश्म टापुमा सीमित हवाई आक्रमण गरेको बताएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  ४ : २१ बजे