नेपालका वामपन्थीमा रूपान्तरणको खाँचो छ : वर्षमान पुन



भरतपुर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले विश्वभर कम्युनिस्ट तथा समाजवादी विचारप्रति आकर्षण बढ्दै गएको दाबी गर्दै नेपालका वाम शक्तिहरूले पनि समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने बताएका छन्।

चितवनको भरतपुरमा आयोजित ‘मार्क्सवादी ज्ञान केन्द्र’ को छैटौँ साधारण सभा तथा अन्तरक्रियामा बोल्दै पुनले पुँजीवादी व्यवस्था संकटमा पर्दै गएकाले अमेरिका र युरोपमा समेत वैकल्पिक विचारतर्फ झुकाव बढेको बताए। न्युयोर्क, बेलायत, पोर्चुगल, फ्रान्स र बेल्जियमका घटनाक्रमलाई उनले विश्व राजनीतिमा देखिएको नयाँ प्रवृत्तिसँग जोडे।

नेपालको सन्दर्भमा भने दुई तिहाइबाट जनमत खुम्चिनुको कारण बदलिएको समाज र विस्तारित मध्यम वर्गको आकांक्षा बुझ्न नसक्नु रहेको उनले स्वीकार गरे। ‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौँ, आफूलाई अपडेट गर्न सकेनौँ, मार्क्सवादलाई विकास गर्न सकेनौँ भन्ने कुरा हामी स्वीकार्नुपर्छ’, पुनले भने।

उनले वामपन्थी शक्तिहरूबीच एकता वा कम्तीमा कार्यगत एकता गर्दै संगठन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए। साथै रास्वपामा विभिन्न दलबाट आएका नेता–कार्यकर्ता जोडिएको प्रसंग कोट्याउँदै पुनले झन्डै सात प्रतिशत पुगेको महँगीविरुद्ध पनि आवाज उठाउनुपर्ने बताए।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ५ : २५ बजे