बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना



कोलम्बो । श्रीलङ्काको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले सोमबार बताएका छन्।
राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका हुन् ।

श्रीलङ्काले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ। यद्यपि विद्युत उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू अबलम्वन पनि गरिरहेको छ ।

श्रीलङ्काले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्छ।

श्रीलङ्काका १२ जिल्लामा खानेपानी अभाव

श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले सोमबार जनाएको छ।
डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन् ।
यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले आवश्यक कदम चालेको पनि उनले बताए ।

डीएमसीका अनुसार दक्षिण एसियाली टापु देशमा खडेरी सामान्यतया मनसुन शुरु हुने ढिलाइ वा वर्षाको अस्थायी परिवर्तनशीलताका कारण हुने गर्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : २१ बजे