बेलायतकी एक महिलाले भारत भ्रमणपछि लागेको दुर्लभ परजीवी संक्रमणका कारण वर्षौंसम्म गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको घटना सार्वजनिक भएको छ । अहिले पूर्ण रूपमा स्वास्थ्यलाभ गरेपछि उनले यस रोगबारे जनचेतना फैलाउने अभियान सुरु गरेकी छन् ।
४२ वर्षीया लोउरी डेनम्यान सन् २००७ मा तीन महिनाका लागि भारत भ्रमणमा गएकी थिइन् । भ्रमणका क्रममा खाद्य विषाक्तताबाट बच्न उनले मासु नखाने निर्णय गरेकी भए पनि चिकित्सकहरूको अनुमानअनुसार उनले कुनै खाद्य पदार्थमार्फत सुँगुरको टेपवर्मका सूक्ष्म अण्डा शरीरमा प्रवेश गरेका थिए ।
भ्रमणपछि करिब तीन वर्षसम्म कुनै समस्या नदेखिए पनि सन् २०१० मा उनले शौचालय प्रयोग गर्दा करिब एक मिटर लामो टेपवर्म देखेकी थिइन् । त्यसबेला गरिएको परीक्षण सामान्य आएपछि उनले थप उपचार गरिनन् ।
तर त्यसको केही समयपछि उनलाई असह्य टाउको दुख्ने समस्या सुरु भयो । सन् २०११ मा पहिलो पटक बेहोस भएपछि अस्पतालमा गरिएको सीटी स्क्यान र एमआरआई परीक्षणले उनको मस्तिष्कमा ३८ वटा परजीवी रहेको देखायो । थप परीक्षणपछि उनलाई न्युरोसिस्टिसर्कोसिस भएको पुष्टि भयो ।
यो रोग सुँगुरको टेपवर्मका लार्भा मस्तिष्कमा पुग्दा हुने दुर्लभ संक्रमण हो । विश्व स्वास्थ्य संगठनका अनुसार काँचो वा राम्रोसँग नपाकेको सुँगुरको मासु, टेपवर्मका अण्डाले दूषित खाना वा पानी तथा कमजोर सरसफाइका कारण मानिसमा यो संक्रमण फैलिन सक्छ ।
उपचारका क्रममा लोउरीले दुई सातासम्म अस्पतालमा बसेर परजीवी नष्ट गर्ने औषधि र स्टेरोइड सेवन गरिन् । केही वर्ष स्वास्थ्य सामान्य रहे पनि पछि मस्तिष्कमा रहेका परजीवी वरिपरि सुन्निने समस्या देखियो । त्यसपछि उनी मानसिक भ्रम, अत्यधिक चिन्ता, डर, मनोविकृति लगायतका समस्याबाट पीडित भइन् र करिब छ सातासम्म मानसिक अस्पतालमा उपचार गराउनु परेको थियो ।
लामो उपचार र पुनर्स्थापनापछि उनी बिस्तारै सामान्य जीवनमा फर्किइन् । उनले पुनः अध्ययन पूरा गरिन्, रोजगारीमा फर्किइन् र अहिले स्वस्थ जीवन बिताइरहेकी छन् । चिकित्सकहरूका अनुसार उपचारपछि मस्तिष्कमा रहेका सबै परजीवी निष्क्रिय भई क्याल्सिफाइड भएका छन् । यद्यपि उनले भविष्यमा यस्ताे नदोहोरियोस् भनेर जीवनभर मिर्गी नियन्त्रणको औषधि सेवन गर्नुपर्नेछ ।
लोउरीको उपचारमा संलग्न संक्रामक रोग विशेषज्ञका अनुसार यस्तो अवस्था अत्यन्तै दुर्लभ हो । बेलायतमा प्रत्येक वर्ष यस्ता केही बिरामी मात्रै भेटिने गरेका छन् र आफ्नो लामो चिकित्सकीय जीवनमा उनले यति जटिल प्रकृतिको यो पहिलो घटना देखेको बताएका छन् ।
स्वास्थ्य लाभपछि लोउरीले आफ्नो अनुभवलाई अरूका लागि चेतनामूलक सन्देश बनाउने निर्णय गरेकी छन् । उनले समयमै रोगको पहिचान, सुरक्षित खाना, सरसफाइ र स्वास्थ्यप्रति सचेत रहन सबैलाई आग्रह गर्दै आफू नयाँ जीवन पाएको अनुभूति गरिरहेको बताएकी छन् ।





प्रतिक्रिया