विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा इतिहासकै ठूलो साइबर हमला भएको आशंका गरिएको छ । बाइनान्सका अनुसार साइबर हमलाका कारण ६ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् करिब ४.७ अर्ब पाउन्ड बराबरका डिजिटल सम्पत्ति प्रभावित भएका छन् ।
बिहीबार बाइनान्सले सार्वजनिक गरेको जानकारीअनुसार प्रभावित सम्पत्तिमध्ये करिब आधा रकम रोक्का गरिएको छ भने बाँकी सम्पत्ति अझै पनि ह्याकरहरूको नियन्त्रणमा रहेको छ । कम्पनीले आक्रमणबाट भएको सम्पूर्ण क्षतिको जिम्मेवारी लिने र सबै नोक्सानी बेहोर्ने प्रतिबद्धता जनाएको छ ।
बाइनान्सको प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटपमा साइबर आक्रमणकारीले पहुँच बनाएपछि अनधिकृत रूपमा डिजिटल सम्पत्ति निकाल्न सम्भव भएको हुन सक्ने देखिएको छ ।
दुईवटा क्रिप्टोकरेन्सी विश्लेषण गर्ने संस्थाले यस घटनामा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ को संलग्नता रहेको दाबी गरेका छन् । टीआरएम ल्याब्स र चेनालाइसिसले गरेको प्रारम्भिक विश्लेषणमा यस आक्रमणका केही विशेषता सन् २०२५ मा बाइबिट एक्सचेन्जमा भएको १ अर्ब ५० करोड डलर बराबरको ह्याकसँग मिल्दोजुल्दो रहेको उल्लेख गरिएको छ ।
टीआरएम ल्याब्सका ग्लोबल हेड अफ पोलिसी एरी रेडबोर्डले बाइनान्समाथिको आक्रमणलाई क्रिप्टो उद्योगका लागि एउटा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार चोरी भएको ठूलो परिमाणको सम्पत्ति अझै ह्याकरकै नियन्त्रणमा रहेकाले त्यसको पहिचान, खोजी र फिर्ता ल्याउने प्रयास जारी रहनेछ ।
चेनालाइसिसका अनुसन्धान प्रमुख एरिक जार्डिनले पनि उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेकोमा उच्च विश्वास रहेको बताएका छन् । ठूलो परिमाणमा डिजिटल सम्पत्ति कारोबार हुने भएकाले क्रिप्टो एक्सचेन्जहरू साइबर आक्रमणकारीको आकर्षक निशाना बन्ने गरेको उनको भनाइ छ ।
बाइनान्सले भने आक्रमणमा उत्तर कोरियाली समूहको संलग्नताबारे प्रत्यक्ष प्रतिक्रिया दिएको छैन । कम्पनीले अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग सहकार्य भइरहेको जनाएको छ ।
घटनापछि बाइनान्सले सुरक्षा अवस्था सुनिश्चित नहुँदासम्म रकम झिक्ने सेवा अर्थात् विथड्रल बन्द गरेको छ । कम्पनीकी सहप्रमुख कार्यकारी अधिकृत यी हेले सम्पत्ति सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न क्रिप्टोकरेन्सी जारी गर्ने कम्पनीहरूले चोरी भएको आशंकाका सम्पत्ति रोक्का गर्न सहयोग गरेको बताएकी छन् ।
यसैबीच, टेथर र सर्कलले घटनासँग सम्बन्धित करिब २ अर्ब ४० करोड डलर बराबरका डिजिटल सम्पत्ति रोक्का गरेका छन् । सर्कलका प्रमुख कार्यकारी जेरेमी अलायरले ८० करोड डलरभन्दा बढी र टेथरका प्रमुख कार्यकारी पाओलो अर्दोइनाले करिब १ अर्ब ६० करोड डलर बराबरका सम्पत्ति रोक्का गरिएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित क्रिप्टो कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलले पनि चोरी भएको रकम रोक्का गर्न आफ्ना साझेदारसँग सहकार्य गरेको जनाएको छ ।
यता, अर्को प्रमुख क्रिप्टो एक्सचेन्ज क्वाइनबेसले भने आफ्नो प्लेटफर्म यस घटनाबाट प्रभावित नभएको स्पष्ट पारेको छ ।
सन् २०१७ मा चीनमा स्थापना भएको बाइनान्समा विश्वभर ३० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता रहेको अनुमान छ । विश्वका विभिन्न देशमा नियामकीय निगरानी र अनुसन्धानको सामना गर्दै आएको बाइनान्सको मुख्य प्लेटफर्म बाइनान्स डटकममा यो घटना भएको हो । अमेरिकाका प्रयोगकर्तालाई सेवा दिने छुट्टै प्लेटफर्म बाइनान्स यूएसले भने आफू यस घटनाबाट प्रभावित नभएको जनाएको छ ।





प्रतिक्रिया