वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल


रासस

२१ पुस २०७९, बिहिबार  

304
Shares

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । उक्त बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले कार्यदलले वामपन्थीहरूसँग छलफल, परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्ने काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हालैको पोलिटब्यूरो बैठकबाट वाम एकताका लागि पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरु गर्ने भनेर निर्णय गरेका थियौँ । त्यसलाई पूरा गर्न महासचिव भुसाल नेतृत्वको तुलाधर, ज्वाला र पौडेल रहेको चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।”

यसैगरी उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा सरकार पक्षका पार्टीहरूले नै औपचारिक प्रस्ताव नगरेको जानकारी दिनुभयो । अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको पहल भइरहेको बताइएको छ ।

जनता समाजवादीले पनि विचार मिल्नेसँग एकता गर्ने गरी वार्ता समिति बनाइसकेको छ । गएको भदौमा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय समाजवादीले गरेको थियो । तर माओवादी केन्द्रसँगको एकता प्रक्रिया हालसम्म अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : ५९ बजे