सकियो प्रचण्ड–ओली वार्ता, भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ । उक्त बैठकमा राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने वारेमा छलफल हुने बताइएको छ ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र त्यसमा समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपतिको निर्वाचन लगायतका बिषयमा छलफल गर्ने निर्णय भएको हो ।ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहालले उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बसेर सहज रूपमा कसरी अगाडि बढ्ने र त्यसक्रममा राष्ट्रपतिको विषयमा पनि छलफल हुने बताएका छन् । फागुन २८ मा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । फागुन २५मा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

पूर्वसहमति अनुसार, राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा गर्न सकेमा उपयुक्त हुने बताएपछि एमाले संशकित छ । सहमति अनुसार, प्रधानमन्त्री र सभामुखको निर्वाचन भइसकेपछि अव सहमति अनुसारनै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुनुपर्छ भन्ने एमालेको अडान छ । सहमति अनुसार, एमालेले राष्ट्रपति लिएपछि माओवादीले उपराष्ट्रपति लिन्छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : ५९ बजे