निजामती ऐन बन्ने अन्तिम चरणमा: मन्त्री राई


रासस

११ फाल्गुन २०७९, बिहिबार  

0
Shares

धनकुटा। सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिएका छन्। धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उनले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिएका छन् ।

“अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ”, मन्त्री राईले भने। उनले जनताका काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीलाई निर्देशन पनि दिएका थिए ।

मन्त्री राईसहित धनकुटा प्रदेशसभा १ का सदस्य निरन राईलाई गाउँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गरेका थिए। छुट्टै भेटमा प्रशासकीय अधिकृत कार्कीले पुरानै निजमती सेवा ऐन, २०४९ अनुसार काम गर्नुपर्दा कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षामा समस्या भएको बताए ।

देश सङ्घीयतामा गएपछि समायोजन ऐन ल्याएर तीनै तहका कर्मचारी समायोजन गरिए पनि ऐन बनेर नआउँदा प्रदेश र स्थानीय तह आफैँले कामचलाउ ऐन ल्याएर काम गरिरहेको उनले जानकारी दिए। “त्यो पनि भोलि सङ्घको ऐनसँग बाझिने हो कि के हुने हो थाहा छैन”, कार्कीले गुनासो पोखेका छन्।

सहिदभूमि पुग्नुभएका मन्त्री राईले पालिकाको वडा नं ६ थलथले बजारमा रहेको ठाकुरदेवी माविको रु ६९ लाख ५० हजारमा नवनिर्मित चारकोठे भवनको उद्घाटन गरेका छन्। यसै क्रममा नेकपा (एमाले) सहिदभूमि गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा पुगेर राईले विसं २०३६ मा पञ्चायती शासकहरुद्वारा हत्या गरिएका १६ सहिदहरूको सालिकमा माल्याअर्पण गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : २४ बजे