सुनको मूल्यमा उच्च वृद्धि



काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला रु एक लाख १० हजार पुगेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार चार सय ५० छ । उक्त सुन अघिल्लो दिन रू एक लाख आठ हजार पाँचसयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४० ले बढेर रु एक हजार चार सय ४० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तराष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : २८ बजे