सत्ता हारेर राजनीति जितेका ओली



अक्सर राजनीति सत्तामा पुग्दा जितिन्छ । इतिहास जित्नेको लेखिन्छ भनिन्छ । तर हार्ने नभइदिए जित्नेपनि हुँदैन । खराव अस्तित्वमा रहँदा असल छुट्टिने हो । फेरि केलाई जितेको भन्ने ? शायद, यो पनि वहसकै बिषय हो ।

यतिवेला नेपाली राजनीतिमा एउटा जर्वजस्त भाष्य विनिर्माण गर्न खोजिदैंछ । त्यो हो –राजनीतिका माहिर खेलाडी ओली पराजित भए । वा, एमाले एक्लै भयो, एमालेले सत्ता गुमायो । यहाँ प्रकारान्तरले एमालेको राजनीति संकटमा भन्न खोजिएको देखिन्छ । यो वामपन्थी भनिएका शक्तिबाटै प्रचारित छ ।

सत्ताको कोणबाट हेर्दा रुप र आवरणमा यो कथनमा सत्यता देखिन्छ । सत्ता गुमाएको सही हो, कमजोर भयो भन्ने गलत हो । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले बनाएको पुष १० को गठवन्धन फागुन ११ मा भत्कियो । ओलीसहितका एमाले नेताले ‘त्यो गठवन्धन भत्काउनुुपर्ने थियो, भत्काएर ठिक गरियो’ भन्ने तर्कका पछि केही सोच थिए । त्यो रणनीतिक लक्ष्यसहितको सोच प्रकटीकरण नहुँदै सवैको हमलामा पर्यो ।

भत्काएपछि नयाँ गठवन्धन बनाउँदा एमालेले ध्यान पुर्याउन सकेन कि ? यो पनि तर्कवितर्ककै विषय भयो । आफ्नो पार्टीको नाममा कम्युनिष्ट झुण्ड्याएका माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ‘कम्युनिष्टकै प्रस्तावमा प्रधानमन्त्री बनेर गल्ती भयो, त्यसैले कांग्रेससँगै फर्के’ भनेर दिएको अभिव्यक्ति पनि उल्लेखनीय छ । अर्को, चोइटिएका तर नाम एकीकृत राखेका कम्युनिष्ट नामका पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घोष गरेकै थिए– यो कम्युनिष्ट गठवन्धन ढालेरै छोडिन्छ

जव माघ २६ मा मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सुदुरपश्चिम सरकार गिर्यो, माधव नेपालले सार्वजनिक हर्षबढाई गरेको दृश्य देखियो । उनले भने– माधव नेपाल लाग्यो भने यस्ता कम्युनिष्ट गठवन्धन एकैछिनमा ढालिदिन्छ । सुदुरपश्चिम सरकार मैले ढालेको हो ।’ कम्युनिष्टले कम्युनिष्टसँग प्रतिशोध साँध्ने यस्ता भाषा सुन्दा कम्युनिष्टलाई मत हाल्नेलाई कस्तो कस्तो लाग्दो हो ।
जननेता मदन भण्डारीको २०५० सालमा निधन भएदेखि यता १५ बर्ष एमालेका महासचिव रहँदा माधव नेपालले देश र पार्टीका लागि सम्झनयोग्य के गरे, मलाई त्यत्ति सम्झना छैन ।

२०६४ को संविधानसभा निर्वाचनमा रौतहट र काठमाडौं दुवै ठाउँबाट पराजित भएपछि र पार्टी तेश्रो स्थानमै सिमित भएपछि महासचिवबाट राजिनामा दिएका हुन् । नैतिकताको एउटा उदारण त यो थियो तर एक बर्ष नपुग्दै मनोनित भएर फेरी संसद प्रवेश गरे । १८ महिना प्रधानमन्त्री पनि भए ।

२०६० वैशाख १९ मा प्रधानमन्त्री पाउँ भन्दै दरवारमा दरखास्त हालेको र प्रतिगमन आधा सच्चियो भन्दै देउवा सरकारका सहभागि भएको सम्मका केही याद छन् । तथ्य के हो भने त्यतिबेला एमालेलाई एउटा पींडादायी पहिचानले संवोधन गरिन्थ्यो– एमाले तेश्रोलिंगी, वा लिंग छुट्याउन नसकिएको शक्ति । (यो भाषा स्मरण गरेको मात्र हो, तेश्रोलिंगीप्रति मेरो कुनै द्धेष भावना छैन ।)

यतातिर पनि नपुगौं । पछिल्लो सत्य के हो भने नवौं महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएपछि माधव नेपालले मुल नेतृत्वलाई असहयोग गरिरहे । शायद ओलीले पनि सँगै लिएर अघि बढ्न चाहेनन् कि ? देउवालाई प्रधानमन्त्री बनाउन २० सिट लिएर छुट्टिएका तर गठवन्धन गर्दापनि १० सिटमात्र जितेको तथ्य हो । परिणाम आफ्नो र पार्टी विपरित आउँदा पनि यी दिनमा उनले गरेको धेरै गौरवबोधी दावी हो – मैले गरेको, मैले बनाएको, मलाई हेप्ने, म देखाइदिन्छु । अर्थात् म र मैलें । मानौं, माधव नेपाल नभएको भए एमाले रहनेनै थिएन । आखिर त्यो खण्डित भइसकेको छ । पहिला, उनमा कुण्ढा थियो तर पार्टी कमजोर भएपछि उनमा दम्भ देखिएको छ । दम्भको श्रोत के हो बुझ्न सकिएन । शायद दुइ स्थान मन्त्री र प्रचण्डपछिको एक बर्षे उधारो प्रधानमन्त्री ।
प्रसंगवश यता बतासिएँ । अव मुल वहसमा फर्कौं ।

सही हो, एमाले प्रमुख प्रतिपक्ष र त्यसका अध्यक्ष ओली प्रमुख प्रतिपक्षी दलका नेता हुन् । संसदलाई प्रतिपक्षको ठान्दा त्यहाँको मुल शक्ति एमाले नै भयो । त्यसो भए वर्तमान राजनीतिको सम्पूर्णतामा एमाले कहाँ छ ? यो भन्दा महत्वपूर्ण ओली कहाँ छन् ? ओलीले हारे वा जिते ? वा प्रधानमन्त्री भएका प्रचण्डले जितेकै हुन् ? वा माधव नेपालले पनि बाजी मारेकै हुन् ?

निर्वाचनबाटै सुरु गरौं ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन (संसद होइन) गरेपछि देउवा, प्रचण्ड, माधवले सम्भवत सवैभन्दा बढी उरालेको मुद्दा हो–प्रतिगमन । यही एजेण्डलाई लिएर उनीहरुले देशव्यापी महागठवन्धन बनाएर २०७९ मंसिर ४ मा निर्वाचनमा गएका हुन् । एमालेले मधेश प्रदेश र केही सिमित ठाउँमा केही दलसँग तालमेल गर्यो । देशब्यापी महागठवन्धन र सिमित तालमेल एउटै होइन ।

परिणाम सवैका सामुन्ने छ । सिट संख्याका आधारमा कांग्रेस ठूलो पार्टी भयो भने समानुपातिक मत अर्थात् पार्टीलाई आएको मतमा एमाले ठूलो दल भयो । अघिल्लो निर्वाचनको समानुपातिक मतको तुलनामा समग्रतामा एमाले कांग्रेस दुवैको मत घट्यो तर त्यो मत नयाँ दल र व्यक्तितिर गयो । प्रचण्ड र माधव निकै खुम्चिए ।

यसको अर्थ हो – ‘प्रतिगमन’ को एजेण्डा पूर्णत् पराजित भयो । प्रतिगमन भन्नेहरुका अनुहार र कामलाई जनताले पत्याएनन् । जतिसुकै तर्क गरेपनि तथ्य यही हो । राजा नै चाहिन्छ भन्ने राजेन्द्र लिङदेन राष्ट्र पार्टी हुनु र प्रतिगमनविरोधी आन्दोलनका स्वघोषित नायक ठान्ने माधवको पार्टी राष्ट्रिय पार्टीसमेत बन्न नसक्नुनै काफी प्रमाण हो ।

र, एउटा सत्य के भने एमालेको पक्षमा आएको परिणाम ओलीप्रतिको आकर्षण नै हो । नाकावन्दी, त्यही तिक्ततापूर्ण समयमा भएको भ्रमणमा समेत विशाखापट्नम बन्दरगाहको प्रयोगको सम्झौतादेखि चीनसँगको पारवहन सम्झौंताहुँदै चुच्चे नक्सासम्म । यी ओलीको पहलमा भए र इतिहास बने । यी कसले गर्यो ? उत्तरमा देउवा, प्रचण्ड र माधवको नाम कसैले लिंदैन ।
सरकार गठनको कुरा गरौं ।

गठवन्धननै बनाएर एमालेलाई सिध्याउने घरेलु वाह्य डिजाइन निर्वाचन परिणामबाट असफल भएकै थियो । तरपनि त्यही गठवन्धनले सरकार बनाउनुनै अर्को स्वभाविक कदम हुन्थ्यो । तर देउवा पहिला कि प्रचण्ड ? भन्ने विवाद दिइएको समयमा सरकार नबन्ने भएपछि ओलीले पहल लिएपछि प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

यो मूलत् वामपन्थी नेतृत्वको सरकार थियो, जसमा नयाँ र पुरानै भएपनि केही गरौं भन्ने सोच भएका केही नेता थिए । वामपन्थी नेतृत्वको सरकार हुँदा देशभरका कम्युनिष्ट समर्थक खुशी भएका थिए । कम्युनिष्ट पार्टी र नेता विभाजित त छन् तर समर्थन र सहानुभूतिको ठूलो संख्या छ, जो सवै कम्युनिष्ट पार्टीमा छन् । नेता र आसेपासेभन्दा ती पार्टी भित्रका आममान्छे भावनात्मक रुपमै यस्तो गठवन्धनका पक्षमा थिए र छन् ।

त्यसैले ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा त्यो पंक्ति राजनीति सही ट्रयाकमा फर्कने आशामा थियो । ओलीले ठिक गरे भन्ने विशाल मत मुखरित भयोपनि । कतिपयले ओलीले ‘कोर्स करेक्सन’ को बाटो लिए, यो स्वागतयोग्य भने । माधव नेपालप्रति त्यति आशा शायद थिएन र उनी तुलनात्मक शक्तिहिन पनि थिए । यसोभनौं, एमाले र माओवादी एकठाउँमा आएमा एकीकृत समाजवादी पनि ढिलोचाडो आउँछ भन्ने पनि थियो । माधवसँग संवाद गर्न वाँकी नै थियो ।

तर त्यो दुई महिनामै भत्क्यो । सामान्यत् साना दलले गठवन्धन छाडेर अर्कातिर जान्छन् तर यहाँ प्रधानमन्त्रीले नै गठवन्धन बदले । यो संसदीय व्यवस्थाको नयाँ अभ्यास हो । शायद, प्रचण्डले संसदको रणनीतिक प्रयोग गरेका हुन् कि जसलाई कांग्रेस भने उसको भन्दा बढी प्रजातान्त्रिक र उपयुक्त कदम ठान्छ ।


प्रचण्डलाई लाग्छ – एमालेसँग जानु गलत थियो, सुधारियो । थाहा छैन अहिले पनि यस्तै लाग्छ कि ? तर प्रचण्डले पुष १० मा पलाएको आशामा तुषारापात गरे । अर्थात् कम्युनिष्ट नाम र शक्तिप्रति भावनात्मक सम्वन्ध राख्ने, समर्थक र सहानूभूति राख्ने सवै गुमाए । प्रचण्डले एउटा यस्तो सम्भावनाको अन्त्य गरिदिए कि चाहेर पनि अव उनले कम्युनिष्ट सत्ताको नेतृत्व कहिले पनि गर्न सक्दैनन् । कम्युनिष्ट शक्तिको सामुन्नेको सम्भावनालाई अन्त्य गरिदिए र उनले आफ्नो पार्टी र आफ्नो विसर्जनको बाटो रोजे ।

प्रचण्ड राजनीतिक रुपमा सकिनु त ठूलो कुरा थिएन, तर माओवादीप्रतिनै वितृष्णा जगाइदिए । प्रचण्डले मत कम्युनिष्टको पाउने हुन, कांग्रेसको होइन । कम्युनिष्ट सिध्याउन एकअर्कामा झगडा लगाउनुपथ्र्यो, यसमा उपयोग हुन प्रचण्ड सजिला थिए ।

भारतकै विरुद्ध सुरुङ खनेर, उसकै विरुद्ध माग राखेर, तर भारतमै वसेर र सन् २००२ मा भारतीय चाहनाविरुद्ध नजाने लिखित पत्र पठाएर शान्तिपूर्ण राजनीतिमा आएका व्यक्ति हुन प्रचण्ड । उनी आफ्नो लाभका लागि सहजै कसैका गोटी बनिदिन्छन् ।
झट्टहेर्दा, प्रचण्ड प्रधानमन्त्री भए, ३२ सिटेले सरकारको नेतृत्व गर्यो भन्ने लाग्छ । तर यसमा प्रचण्डलाई व्यक्तिगत लाभमात्र छ । र, प्रचण्डलाई यो पनि थाहा छ अव माओवादी ३२ सिटबाट माथि जाँदैन । प्रचण्डको जसरी पनि सत्ता भन्ने व्यवहारका लागि ३२ सिट एउटा खतराको घन्टी हो ।

अर्को राष्ट्रपतिको प्रस्तावको बिषय ।

ओली चट्टानी अडान राख्छन् । आफूलाई सिध्याउन कांग्रेस शिविरमा प्रवेश गरेका प्रचण्ड र माधवसँग ओलीले सहजै प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्ताव राख्छन् भन्ने अनुमान गर्न गाहे थियो ।

प्रचण्डलाई त प्रधानमन्त्री बनाएकै थिए, पालो थियो माधवलाई राष्ट्रपति बनाउने । शायद यो प्रचण्ड र माधवलाई सेरोमोनियल र कार्यकारी बनाउनेभन्दा पनि एउटा सोचबाट निर्देशित थियो, जो माथिपनि उल्लेख छ । यी व्यक्तिलाई नै बनाउन त ओली किन लाग्नुपथ्र्यो ? बैगुनीलाई गुन तिर्न खोजेका पनि होइनन् । त्यति उदार ओली छैनन् । मलाई समाप्त पार्न खोज्नेलाई किन यस्ता महत्वपूर्ण पद प्रस्ताव गर्छु भनेर ओली देउवालाई प्रधानमन्त्री बनाउनेतिर लाग्न सक्थे र राष्ट्रपतिमा आफ्नै पार्टीका कोही नेता अघि सार्नसक्थे । तर ओलीले माधव नेपालसँग करिव चारघण्टा वार्ता गरे । उनलाई राष्ट्रपतिमा प्रस्ताव गरे, एकीकृत समाजवादीलाई एमालेसँग एकता गर्न प्रस्ताव राखे ।

माधवले मानेनन् वा कसैले नमान भन्यो, त्यो उनै जानुन् । तर उनले एउटा ऐतिहासिक अवसर गुमाए । राष्ट्रपतिको प्रस्ताव स्विकारेका भए पार्टी एकता पनि हुन्थ्यो । अव माधव नेपाल कहिले पनि कम्युनिष्ट नेतृत्वद्वारा प्रस्तावित राष्ट्रपति बन्दैनन् । ओलीसँग हाताहात नगद खोज्ने उनले वरु प्रचण्ड र देउवासँग उधारोमै चित्त बुझाए । माधवलाई शायद अहिले अलिअलि महसुस भएको छ कि ? थाहा छैन । पार्टी चोइटाएर पार्टी अध्यक्ष हुने एउटा सपना चाँही उनले पुरा गरे ।

सत्य यो हो कम्युनिष्टलाई कम्युनिष्टले सिध्याउने पात्र रुपमा प्रचण्ड र माधव भए । ओली झुकेर कम्युनिष्ट जोड्न लाग्दैथिए, आरम्भ भएको पनि थियो तर प्रचण्डले दाम्लो चुुडाएँ, माधवले भ्याउँ गरे । अव एमाले, माओवादी र एकीकृत समाजवादीवीच सहकार्य हुने सम्भावना निकै कम छ । प्रचण्ड र माधवले गल्ती महसुस हुँदापनि त्यो सुधार गर्न नसक्ने अवस्थामा उनीहरु पुगेका छन् ।

ओलीले कम्युनिष्ट एक बनाउन खोज्दा प्रचण्ड र माधव सहयोगी भएनन् भन्ने तथ्य स्थापित भयो । सत्ता त पाए तर इतिहासले उनीहरुलाई कम्युनिष्टका ‘भिलेन’ बनाइदियो ।

समकालिन राजनीतिक नेतृत्वमा अहिले पनि क्रेज ओलीको छ । एमाले अध्यक्ष भएरमात्र होइन, एउटा तुलनात्मक सफल नेता भएर हो । नातीपुस्तादेखि हजुरआमासम्म ओलीका फ्यान छन् । ओलीप्रतिको आकर्षण देखेर अत्तालिएकाहरुले चुनावी मोर्चाका नाममा उनीविरुद्ध सामुहिक घोषित युद्ध लडेको देखिएकै छ । ओलीप्रतिको यो सापेक्ष मुल्याङ्घन हो, निरपेक्ष होइन ।

राष्ट्रिय स्वार्थको नेतृत्व र संरक्षणको कोणबाट हेर्दा ओलीले जसरी इतिहास बनाएका छन्, कम्युनिष्टलाई जोड्न उनले लिएको यो पछिल्लो तर ‘असफल’ पहलकदमीले कम्युनिष्ट मत र मनमा सम्मान सुरक्षित गरेको छ । तर १० दलीय गठवन्धनले थप निराशावाहेक केही सञ्चार गर्दैन । नगरेपछि आम नागरिकले दशथरीका भन्दा बरु दुई दलमात्र मिलुन् भन्नेतिर राजनीति पुग्नसक्छ । साना दलले बार्गेनिङ गर्ने, हैसियतभन्दा बढी शक्ति अभ्यास गर्र्ने, सत्ताको चरम दुरुप्रयोग गर्ने भएपछि यो हुन्छनै ।

अहिले शुरुभइसकेको छ । मुलुक अराजकतातिर जाँदैछ । अजराकता राज्यले नियन्त्रण गर्न सक्ने देखिदैंन । त्यही अराजकता र त्यसमाथि दमनको चक्रले प्रचण्डलाई दिइएको ४० प्रतिशत समयको सत्ता विचमै तुहिने छ । त्यसबेला दुई ठूला दल मिल्नुपर्ने अवस्था आउनेछ तुलनात्मक स्थिरताका लागि ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : २४ बजे