बस दुर्घटनामा २४ जनाको मृत्यु




रबात । मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोरोक्को र अन्य उत्तर अफ्रिकी मुलुकका सडकमा अत्यधिक दुर्घटनाहरू हुने गरेका छन् । वर्षेनी हजारौं सडक दुर्घटनाहरू हुँदा हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

गत मार्चमहिनामा मोरक्को ब्राचौआको ग्रामीण शहरमा मिनीबस अनियन्त्रित भई रुखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यहाँका धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न ठूला बस र मिनीबसहरू प्रयोग गर्छन् ।

गत वर्षको अगष्टमा मोरक्कोको आर्थिक राजधानी कासाब्लान्काको पूर्वमा एउटा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

राष्ट्रिय सडक सुरक्षा एजेन्सीका अनुसार मोरक्कोमा हरेक वर्ष औसत तीन हजार ५०० व्यक्तिको सडक दुर्घटनाबाटबाट मृत्यु हुने गरेको र १२ हजार व्यक्ति घाइते हुने गरेका छन् ।

पिछिल्लो बर्ष यो तथ्याङ्क करीब तीन हजार २०० रहेको थियो ।

सन् २०१२ मा देशको इतिहासकै सबैभन्दा खराबमध्येको एक बस दुर्घटनामा परी ४२ जनाको मृत्यु भएपछि अधिकारीहरूले सन् २०२६ सम्ममा मृत्युदर आधा गर्ने तयारी गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : ०७ बजे