पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय



ब्याङ्कक । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ ।

नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्‍याइएको अदालतले जनाएको छ ।

थाइल्याण्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा परेका छन् ।

पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाड्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रुपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट काराबासको सजाय भएको छ ।

चौहत्तर वर्षीय थाक्सिनलाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्नुहुनेछ भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।

पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन्। देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उनी स्वदेश फर्किएका हुन् ।

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो । निर्वाचित नेता उनलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उनीविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् ।

दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समय अनुसार बिहान ९ः०० बजे राजधानी व्याङ्ककमा अवतरण गरेका उनको सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए । नेता सिनावात्राको दलको गढ मानिएको उत्तरपूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए ।

आफ्ना दुई छोरी र छोराको साथमा उनी विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्की उका थिए र राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनलाई सर्वोच्च अदालत लगिएको थियो । उनलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ । नेता थाक्सिनको पार्टी फेउ थाई गठबन्धन सरकारमा आजै सहभागी हुने अपेक्षा पनि गरिएको छ ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ । गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १२ : ४४ बजे