भोजपुरका किसानको रोजाइमा चिराइतो खेती



भोजपुर । चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।

चिराइतो बिक्रीबाट वार्षिकरुपमा रू दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताए । यस वर्ष आफ्नो बारीमा करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उनको भनाइ थियो ।

राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताए । “हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्”, उनले भने, “अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।”

उनले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा रू १० देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिए । यहाँ प्रति किसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताए ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरु बताउँछन् ।

विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताए । “यसबाट राम्रो आम्दानी लिँदै आएको छु”, उनले भने, “बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।”

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेतको भनाइ थियो । आलु, मकैबाट रू ५० हजार आम्दानी गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा रू पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनले जानकारी दिए ।

यस खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो । “हामीले पराम्परागत रुपमा खेती गरिरहेका छौँ”, उनले भने, “यस खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोगमात्र पाएमा पनि अझ सहज हुने थियो ।”

कृषकले चिराइतोलाई भदौ, असोज र कात्तिकमा सङ्कलन गर्दछन् । पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताए । “विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु”, उनले भने, “मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ । एक पटक सङ्कलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक÷फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ ।”

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रुपमा चिराइतो प्रयोग गर्न सकिने कृषक राउतको भनाइ छ । उनका अनुसार यसको पात, डाँठ, जरा लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ ।

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  २ : ०८ बजे