आजदेखि शहीद सप्ताह सुरू



काठमाडौँ, माघ १० । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेमन शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ।

शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो।

शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो। सोही दिनको स्मरणमा आज उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुचि राख्नुहुने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गर्नुभएको योगदान अविस्मरणीय भएको बताइन्।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेको उनको भनाइ थियो। यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। सात दिन शहीद सप्ताह मनाइएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ।  
लामो समयदेखि शहीदको योगदानको कदर गर्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ। 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ०६ बजे