सुकुम्बासीलाई व्यवस्थित गर्न विराटनगर महानगरपालिकाद्वारा छलफल सुरु



विराटनग । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको बताए ।

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए ।

“हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ”, प्रमुख कोइरालाले भने, “घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरुको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्व र माया हुन्छ ।”

उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यतामा समेत ह्रास आएको दाबी गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १२ : २५ बजे