चीनमा आफ्नै व्यावसायिक साझेदार तथा चर्चित गेमिङ अर्बपति लिन किको हत्या गरेको अभियोगमा दोषी ठहर भएका झु याओलाई मृत्युदण्ड दिइएको छ । चिनियां सञ्चारमाध्यमहरूका अनुसार सन् २०२० मा विष प्रयोग गरेर लिनको हत्या गरेको अभियोगमा २०२४ मा दोषी ठहर याओलाई गत मे २१ मा मृत्युदण्ड दिइएको हो ।
लिन की चीनको चर्चित गेमिङ कम्पनी युजु गेम्सका संस्थापक थिए । उक्त कम्पनीसंग चर्चित चिनिया विज्ञानकथा थ्री बडी प्रब्लमको फिल्म तथा श्रृंखला निर्माण अधिकार रहेको थियो । पछि यही कथामा आधारित नेटफ्लिक्सले बनाएको थ्री बडी प्रब्लम विश्वभर चर्चित बनेको थियो ।
कम्पनीले मंगलबार जारी गरेको वक्तव्यमा मृत्युदण्ड कार्यान्वयन भएको पुष्टि गर्दै “अन्ततः न्याय भएको” जनाएको छ । वक्तव्यमा लिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै न्यायिक प्रक्रियाको निष्पक्षताको प्रशंसा गरिएको छ ।
थ्री बडी प्रब्लम चिनियां लेखक लिउ सिझिनको चर्चित विज्ञानकथा श्रृंखला रिमेब्रेन्स अफ अर्थेज पास्टमा आधारित हो । उक्त कृति झन्डै ३० भाषामा अनुवाद भइसकेको छ र यसमा आधारित विभिन्न चलचित्र तथा श्रृंखलाहरू निर्माण भएका छन् । नेटफ्लिक्सले २०२४ मा सार्वजनिक गरेको श्रृंखला विश्वभर अत्यधिक हेरिने कार्यक्रममध्ये एक बनेको थियो । लिन क्वीलाई उक्त श्रृंखलामा मरणोपरान्त कार्यकारी निर्माता (एक्जिक्युटिभ प्रोड्युसर) को रूपमा श्रेय दिइएको थियो ।
अदालतका अनुसार सू याओले “अत्यन्त घृणित योजना” अन्तर्गत लिनको हत्या गरेका थिए । सन् २०१८ मा लिनले सूलाई थ्री–बडी युनिभर्स नामक सहायक कम्पनीको नेतृत्व दिएका थिए, जसले उक्त विज्ञानकथा फ्रेन्चाइजसाग सम्बन्धित परियोजनाहरू व्यवस्थापन गर्थ्यो ।
तर २०२० मा कम्पनीभित्र जिम्मेवारी बांडफांटलाई लिएर दुईबीच विवाद बढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसपछि सूले घातक रसायनलाई प्रोबायोटिक चक्कीको रूपमा प्रस्तुत गर्दै लिनलाई दिएका थिए ।
डिसेम्बर २०२० मा अस्वस्थ भएपछि लिन अस्पताल भर्ना भएका थिए । नौ दिनपछि ३९ वर्षको उमेरमा उनको मृत्यु भएको थियो । त्यतिबेला उनको सम्पत्ति करिब ६ अर्ब ८० करोड युआन (झन्डै ९४ करोड अमेरिकी डलर) बराबर रहेको बताइएको थियो ।
लिन अस्पताल भर्ना भएको केही दिनमै प्रहरीले सू याओलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सूको विषप्रयोगबाट अन्य केही व्यक्ति पनि बिरामी परेको खुलेको थियो ।





प्रतिक्रिया