गृहयुद्धमा फसेको म्यानमारले डिसेम्बर २८ देखि आम निर्वाचन गर्ने घोषणा गरेको छ । सैनिक सरकारद्वारा घोषित यो चरणबद्ध निर्वाचनलाई नाटकको संज्ञा दिदै व्यापक रूपमा आलोचना गरिएको छ, जसले जुंटाको सत्ता झन् मजबुत पार्ने आशंका गरिएको छ ।
यो निर्वाचन २०२१ मा भएको रक्तपातपूर्ण सैन्य कू पछिको पहिलो निर्वाचन हुनेछ । सैन्य कू पछि म्यानमारकी प्रजातान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सु चीलाई जेलमा राखिएको छ ।
त्यसयता म्यानमार गृहयुद्धमा फसेको छ, जहाँ सेनामाथि जातीय सशस्त्र समूहहरूसँग घातक युद्ध भइरहेका छन् । तीमध्ये धेरैले आफ्ना क्षेत्रमा मतदान हुन नदिने घोषणा गरेका छन् ।
निर्वाचनका लागि यसअघि विभिन्न मिति तय भएपनि बारम्बार स्थगित हुँदै आएका थिए ।
राज्य सञ्चालित मिडियाका अनुसार सोमबारसम्म ५५ वटा पार्टी दर्ता भएका छन्, जसमा ९ पार्टीले देशव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनाएका छन्।
म्यानमार निर्वाचन आयोगले भनेको छ, “बहुदलीय प्रजातान्त्रिक आम निर्वाचनको पहिलो चरण २०२५ डिसेम्बर २८ आइतबारदेखि सुरु हुनेछ । अन्य चरणहरूको मिति पछि घोषणा गरिनेछ ।”
तर ठूलो भूभाग विपक्षी नियन्त्रणमा रहेको र युद्धग्रस्त अवस्थामा चुनाव सञ्चालन गर्नु सैनिक सरकारका लागि ठूलो चुनौती रहेको छ ।



प्रतिक्रिया