बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा



महोत्तरी । वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन् । बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उनलाई खेतबारीका कुना–कुनामा बिजुली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ ।

“यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे”, उनले भने, “खेतबारीका सुरसुरमा बिजुली बालेर धुआ ठड्याएपछि राहत मिलेको छ ।” यादवले जस्तै सो बस्तीका अन्य किसानले पनि यो तरिका अपनाएपछि वन्यजन्तुको बिग्याइँ कम भएको छ । “आँखा झिमिक्क गर्न पाइन्नथ्यो, अहिले अलि राहत भएको छ”, स्थानीय बहुरा महतोले भने ।

मकै, गहुँ, उखु र तरकारी बाली लगाएका खेतबारीमा ‘धुआ’ ठड्याउने पुरानै चलन हो । अहिले यो पुरानो जुक्ति पछ्याएर गरिएको कामबाट बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोष महसुस गरेका छन् ।

“बिजुली पहिले नहुँदा त्यतिखेरका किसानले बाली भएको खेतबारीमा राँको बाल्ने र बुख्याचा ठड्याउने गर्थे, यो पुरानो चलन हराएको थियो”, स्थानीय अरुण गिरीले भने, “पुरानो यो विधि प्रभावकारी नै रहेछ ।” यो तरिका खासै खर्चिलो नभएको किसान बताउँछन् । बिजुली बाल्न धेरथोर खर्च भए पनि ‘धुआ’ त पुराना झुत्राझुत्री लुगा र बाँसका भाटाले नै ठड्याउन सकिन्छ ।

“हैरान भइन्थ्यो, राती पनि सुत्न पाइन्नथ्यो”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका महेन्द्र महतोले भने, “यसपालि हिउँदमा तरकारी बारीमा तीन–चार ठाउँ बिजुली बालेर धुआ (मैथिलीमा मुर्कट) ठड्याइएपछि सहज भएको छ ।” वन्यजन्तुले बाली खाएको देखेपछि लघार्दा कैयौँ बस्तीमा नीलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ ।

पछिल्ला केही वर्षयता महोत्तरीमा वन क्षेत्रबाट जिल्लाको भारतीय सीमावर्ती भेगसम्म नीलगाई र बँदेल बस्ती–बस्ती पसेर बालीनाली नोक्सान गरेपछि किसान दिक्क हुँदै आएका छन् । दुम्सी र बाँदरचाहिँ वनक्षेत्र नजिकका बस्तीमा मात्र पसे पनि बँदेल, हरिण र नीलगाई सुदूर दक्षिणी भेगसम्म देखिएका छन् । दिनभरि घारितिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, नयाँ उखुका हुर्कँदै गरेका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान पारेका बेला ‘धुआ’ र ‘बिजुली’ले आफूहरूलाई राहत दिएको किसानको भनाइ छ ।

पछिल्लोपटक भङ्गाहा र बर्दिबास नगरक्षेत्रका किसानले अपनाएका यो तरिका अब जिल्लाका अन्य भेगका किसानले पनि अनुशरण गरेका छन् । “बिजलपुरा आफन्त भेट्न गएको थिएँ, त्यहाँ बिजुली र धुआ वन्यजन्तुको क्षति रोक्न प्रभावकारी बनेको देखेँ”, बर्दिबासका–१० बटुवाका लक्ष्मीप्रसाद सिंह कुशवाहाले भने, “आफ्नो बस्ती फर्केर यो उपाय अपनाएँ, अहिले त धेरै किसानले यो सिको गर्नुभयो ।”

अहिले महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवं बटेश्वर गाउँपालिकाका बस्ती–बस्तीमा वन्यजन्तुबाट बाली जोगाउन किसानले ‘धुआ’ र ‘बिजुली’को उपाय अपनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ११ : २४ बजे